प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न
२०८३-०७-२०
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार आयोजित प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूलाई सह-प्राध्यापक र विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले सहायक प्राध्यापकको प्रमाणपत्र प्रदान गर्नुका साथै उहाँहरूलाई सम्मान समेत गर्नुभयो ।
स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवा मार्फत जनताको सेवामा समर्पित हुने सोचका साथ नेपाल प्रहरीले नेपाल प्रहरी मेडिकल कलेजको परिकल्पना गरी अगाडि बढिरहेको छ । मेडिकल कलेजको आधार स्तम्भको रूपमा रहेको प्राविधिक जनशक्तिको प्राज्ञिक वृत्ति विकासलाई अगाडि बढाउने संगठनको नीति अनुरूप २०८१ फाल्गुण २७ गते नेपाल प्रहरी अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीच सम्झौता भएको थियो । यसै सन्दर्भमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्को २०८२ चैत्र ४ गतेको बैठकले नेपाल प्रहरी अस्पतालमा कार्यरत मापदण्ड पुरा गर्नुभएका १७ जना चिकित्सकलाई सहप्राध्यपक, १८ जना चिकित्सकलाई सहायक प्राध्यापक एवम् एक जना नर्सिङ अधिकृतलाई सहायक प्राध्यापकको पदवी प्रदान गरेको हो ।
सह-प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सुन्दर प्रसाद ह्योजु, प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू डा. संजय विक्रम श्रेष्ठ र डा. मनोज कुमार यादव, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. विपिन कुमार श्रेष्ठ, डा. अमिन कुमार श्रेष्ठ, डा. पवन कुमार राय र डा. सेवक श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षकहरू डा. अच्युत विक्रम हमाल, डा. सन्तोष जोशी, डा. रोजिना मानन्धर, डा. ज्योती बाँस्तोला पौडेल, डा. अञ्जली तण्डुकार, डा. दीपा चुडाल र डा. सुवास थापा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. अर्चना यादव र डा. निशेफ अधिकारी रहेका छन् ।
यसैगरी सहायक प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. रोशन कुमार निराला, डा. सन्तोष कुमार ठाकुर, डा. शिरिषचन्द्र रेग्मी, डा. प्रशंसा शाक्य, डा. श्याम कृष्ण लौडारी, डा. राजन सुवेदी, डा. सन्देश लामिछाने, डा. आशिष मोहन भट्टराई, डा. विदुर प्रसाद आचार्य र डा. रजनी महर्जन तथा प्राविधिक प्रहरी निरीक्षकहरू डा. नितु भण्डारी, डा. विजय कुमार श्रेष्ठ र डा. आलोक सिंह रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले सह-प्राध्यापक एवम् सहायक प्राध्यापकको प्राज्ञिक उपाधिहरू केवल व्यक्तिगत शैक्षिक उपलब्धी वा सम्मानका प्रमाणपत्र मात्र नभई वर्षौँ देखिको अध्ययन, अनुसन्धान, लगनशीलता र व्यावसायिक निष्ठाको जीवन्त प्रमाण भएको चर्चा गर्दै यी प्राज्ञिक उपाधि हासिल गर्न सफल हुनुभएका सम्पूर्ण चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई समग्र नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीले स्वास्थ्य सेवालाई थप विशिष्टिकृत, गुणस्तरीय र अनुसन्धानमुखी बनाउँदै नेपाल प्रहरी अस्पताललाई एक सक्षम प्राज्ञिक तथा कार्यात्मक मेडिकल कलेजका रूपमा विकास गर्ने दीर्घकालीन यात्रामा अघि बढिरहेको उल्लेख गर्दै नेपाल प्रहरी मेडिकल कलेजको स्थापना तथा विकासको यात्रामा आज प्राज्ञिक उपाधि हासिल गर्नुभएका प्रहरी अधिकृतहरूले आर्जन गर्नुभएको ज्ञान, अनुभव र प्राज्ञिक क्षमतालाई संस्थाको सेवा प्रवाह सुधार, अनुसन्धान, अध्यापन र नवीनतम् चिकित्सा अभ्यासको विकासमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले प्राज्ञिक पदवी प्राप्त गर्नुहुने चिकित्सकहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा बहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।