अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०८-०२
- A
- A-
- A+
जुम्ला, चन्दननाथ नगरपालिका-५ जुम्ला बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका-४ सापुल्ली बस्ने २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनिल कुमार शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, इच्छाकामना गाउँपालिका-३ फिस्लिङ बजार डेरा गरी बस्ने सर्लाही घर भएका २८ वर्षीय बिजय अधिकारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलोग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले बिजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश गुरूङ र सोही नगरपालिका-१ कालागाउँ बस्ने २७ वर्षीय सुसान्त खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ हटियाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय विशाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ एकतानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश विश्वकर्मा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-८ राजावास साहीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ६ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय रूपेश दनुवारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले स.५ प ५२७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-१ बाग्मती पुलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ७१ ट्याब्लेट र नगद ४० हजार ५० रूपैयाँ सहित सर्लाही बाग्मती नगरपालिका-१ बस्ने २९ वर्षीय उमेश मल्लिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-११ पारिजात टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, एनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही महानगरपालिका-११ बस्ने ३८ वर्षीय बिकाश थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।