प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा कमी गर्न सबै सरोकारवाला निकाय जिम्मेवार हुन आवश्यक

२०८०-१०-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने  त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी चौबिसै घण्टा खटिएको छ । चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम प्रहरीले गरिरहेको छ । नेपाल प्रहरीको सक्रियताको कारण दुर्घटना संख्या घट्दै गएको र ट्राफिक नियम उल्लंघन गर्ने क्रम कम भएको छ । यसलाई अझै न्यूनिकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन सरोकारवाला सबै निकाय जिम्मेवार हुन आवश्यक छ । 

यस आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये ८ सय ५४ जना पुरूष, २ सय ९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् । साथै ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए । घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए । सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिदै गईरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने गर्दछ । दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धमा चालिएका कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ , “ डिजिटल प्रविधि, सिसिटिभि, ट्राफिक लाईट, मापसे चेकिङ लगायतका अवयब थप गर्ने विषयमा हाम्रो चासो छ, जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ । सरोकारवाला सबै निकायले आ-आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमानदार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।”

सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार ८६५ वटा, कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७ सय ६ वटा, गण्डकी प्रदेशमा १ सय ९५ वटा, लुम्बिनी प्रदेशमा ६ सय ६ वटा, कर्णाली प्रदेशमा ४ सय ९५ वटा र सुदूरपश्चिम प्रदेशमा १ सय ६० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ८ सय ७४ वटा ट्रक/ट्याङकर, २ सय १३ वटा टिपर, ३५ वटा डोजर/ लोडर/ स्काभेटर, १ हजार ४९६ वटा बस, २ सय ९४ वटा माइक्रोबस, ४ हजार ६२५ वटा जिप/कार, ३ सय २४ वटा ट्याक्टर, ७ सय ४१ वटा टेम्पो, ११ हजार ४० वटा  मोटरसाइकल, ७ सय ९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४ सय १९ वटा सवारी साधनहरू संलग्न रहेका थिए । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् ।  तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा बढि दुर्घटना काठमाडौं उपत्यकामा र सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा भएका थिए भने सबै भन्दा बढि मोटरसाइकल दुर्घटनामा परेका छन् । 

तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढि दुर्घटनामा परेको देखिन्छ । तीव्र गति लगायत दुर्घटनाका विविध कारणहरू छन् । सो अवधिमा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७ सय ५६ वटा, मापसे ६ सय ९४ वटा, ट्राफिक नियम उल्लंघन ५ सय ७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४ सय ६० वटा, ओभरटेक ३ सय ५३ वटा लगायत ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता प्रमुख कारणले समेत सवारी दुर्घटना भएका छन् । साथै जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनिकरण गर्नेबारे प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही तथा जरिवाना गर्ने गरेको छ । दुर्घटनाबाट हुने जनधनको क्षतिबाट गम्भीर असर पर्छ । त्यसैले दुर्घटना न्यूनिकरणको लागि नेपाल प्रहरीले कडाईका साथ ट्राफिक व्यवस्थापनमा जोड दिँदै आएको छ ।” यसले ट्राफिक सम्बन्धी सचेतना जनमानसमा पुर्‍याउन र दुर्घटनाबाट बच्न मद्दत पुगेको उहाँले बताउनुभयो । 

सो अवधिमा बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५ सय ८१ वटा दुर्घटना भएको देखिन्छ । ८ वटा दुर्घटनाको समय खुल्न सकेको छैन् । दुर्घटना बढि हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, “ दुर्घटनाबाट हुने क्षति गम्भीर छ । यसको न्यूनिकरणको लागि ट्राफिक प्रहरीले बढि दुर्घटना हुने स्थानमा चेकिङ बढाउने र सचेतनामूलक चिन्हहरू राख्ने लगायतका कामहरू निरन्तर रूपमा गरिरहेको छ ।”     


सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा मातहत प्रहरी कार्यालयका सुचना अधिकारीसँग छलफल एवम् अन्तरक्रिया
२०८३-०७-१७

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउने सम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सवारी चालक उन्नत तालिम सुरू
२०८३-०७-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३३ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभएको हो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल १६ कार्यदिन रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीद्वारा नि:शुल्क बस संचालन
२०८३-०७-०३

काठमाडौं, बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको छ । रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर ३: यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ ।निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको   छ ।नि:शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।  

२० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८३-०६-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित आठौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।    उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । विभागीय गतिविधिका साथै अन्य सूचनाहरू सम्प्रेषण गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षणका दौरानमा प्राप्त ज्ञान र सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक भई कार्य गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान ८ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायव निरीक्षक मन कुमारी तामाङले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत आठौं समूहद्वारा तयार पारिएको जनचेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।  

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०८३-०६-२१

चितवन, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा बुधबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१८०औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८०औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “ASI Basic 2-180th Batch : A MEMOIR” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभकामना समेत व्यक्त गर्नुभयो । आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधारस्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सीपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले व्यक्ति भन्दा माथि सधै संगठन रहने मूल मन्त्रलाई आत्मसात् गर्दै जस्तोसुकै परिस्थितिमा पनि व्यक्तिगत स्वार्थ, लोभ र पूर्वाग्रह भन्दा माथि उठेर संगठनको साख, मर्यादा र राष्ट्रहितलाई सदैव सर्वोपरि मानी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।तालिम संयोजक प्रहरी नायव उपरीक्षक लोक बहादुर जिसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ भदौ २२  गतेदेखि संचालित उक्त तालिममा ४३ जना महिला सहित कुल ३ सय १० जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरूका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।