प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी कल्याण कोषको सुविधाबाट २२ हजार ८३३ जना लाभान्वित

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीले प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । यसले प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि गर्नुका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषको रहेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरू गरी जम्मा २२ हजार ८३३ जना लाभान्वित भएका छन् । तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १ सय २२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति २ जना र शौक्षिक कर्जा ६ जना छन् । सामाजिक सुरक्षातर्फ जेष्ठ निवृत्तिभरण २ सय ४० जना, किरिया कर्म खर्च २ सय १३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान ३ जना छन् । स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी ४ जना र औषधोपचार कर्जाबाट १ जना लाभान्वित भएका छन् । 

यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम ३ हजार ६ सय ४७ जना र घर निर्माण तथा मर्मत सम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ/पुरानो चारपाङग्रे कार/जिप १५ जना, मोटरसाइकल/स्कुटर ५ सय ८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् । तालिम तथा वृत्ति विकास (प्रदेश स्तरीय कल्याण कोषबाट संचालित) मा सिपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् । अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह १ हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब ७ हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २ सय ६० जना र नेपाल पुलिस स्कुल ९ हजार १४७ जनाले प्राप्त गरेका छन् । यस्तै प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् । 

कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन नेपाल प्रहरी प्रयासरत छ । कल्याण कोष सम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ । व्यवस्थापनलाई चुस्त राख्न महाशाखा अन्तर्गत विभिन्न शाखाहरू तथा नेपाल पुलिस क्ल्ब, नेपाल पुलिस हेल्थ क्लब, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेपाल प्रहरी स्कुल लगायतका निकाय क्रियाशील छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नागरिक सेवामा व्यस्त हुनु पर्ने र अधिकांश समय घर परिवारदेखि टाढा खटिनुपर्ने भएकोले प्रहरी कर्मचारीहरू घर परिवारलाई समय दिन पाउँदैनन् । उनीहरू र आश्रित परिवारलाई आर्थिक अभाव नहोस् र मनोबल उच्च होस् भन्ने उद्देश्यले प्रहरीले कल्याणकारी कार्यक्रम संचालन गरिएको हो । साथै सेवा निवृत्त प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवार र अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्न कोषले मदत पुर्‍याएको छ । खेलकुदको विकास लगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानी गर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको छ ।”

कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, नेपाल पुलिस स्कुलबाट समेत योगदान हुँदै आएको छ । यी सेवाबाट सर्वसाधरण समेत लाभान्वित हुँदै आएका छन् । 

संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम, बैंकमा मुद्धती निक्षेपमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने व्याज, पेट्रोल पम्पहरूबाट हुने आम्दानी, सपिङ कम्प्लेक्स तथा आवास र अतिथि गृह भाडा वापतको आम्दानी, नेपाल पुलिस हेल्थ क्लवबाट हुने आम्दानी, विभिन्न सहुलियत ऋण तथा घर कर्जा लगानीबाट प्राप्त हुने व्याज र अन्य आम्दानी प्रहरी कल्याण कोषको आम्दानीका श्रोत हुन् । 

प्रहरी कल्याण कोष संचालक समितिमा प्रहरी महानिरीक्षक संरक्षक रहने प्रावधान छ । प्रहरी नियमावली, २०७१ को नियम १९४ अन्तर्गत प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० बमोजिम कोष सञ्चालन भइरहेको छ । 

सम्बन्धित समाचार
सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रति थप संवेदनशील हुँदै नेपाल प्रहरी
२०८३-०५-१८

काठमाडौं, बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध कुनै पनि किसिमका अप्रिय घटनाहरू हुन नदिन रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार रसुवाको होल्डिङ सेन्टरमा महिला ६० जना, बालक ३७ जना र बालिका ३९ जना गरी जम्मा १ सय ३६ जना रहेका छन् । धादिङमा महिला १ सय २६ जना, बालक २४ जना र बालिका ३२ जना गरी १ सय ८२ जना रहेका छन् भने नुवाकोटमा महिला ९ सय २९ जना, बालक १ सय ९५ जना र बालिका १ सय ६८ जना गरी जम्मा १ हजार २ सय ९२ जना रहेका छन् । यसैगरी काठमाडौंको होल्डिङ सेन्टरमा महिला १ सय ९ जना, बालक ५३ जना र बालिका ४९ जना गरी जम्मा २ सय ११ जना रहेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध नियन्त्रणमा प्रहरी संवेदनशील भई कार्य गरिरहेको छ । होल्डिङ सेन्टरमा महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालित छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित देखा परेका समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् ।’  बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टरमा नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।    

सम्पर्कविहीनका आफन्तको डिएनए प्रोफाइलिङ नेपाल प्रहरी अस्पतालमा गर्न सकिने
२०८३-०५-१७

काठमाडौं, नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो । नेपाल प्रहरी अस्पतालमा आज १७:०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५ सय ३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ । नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी भन्नुहुन्छ, ‘सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र २ प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना (Fresh Blood) दिन सक्नेछन् । उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नु पर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत् पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमुना संकलन गरिने छ । संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउँछौं ।’   नेपाल प्रहरीको Scene of Crime Officer (SOCO)  सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरूमा बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको छ । फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक संकलन गरिएको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ । पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचान जन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।   फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो २ प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगंजस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यसैगरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाको लागि डिएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन् ।

एउटै घरमा २४ वटा शव फेला, मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको
२०८३-०५-१६

नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो ।ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुल्न आयो । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्‍यो । दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भयो ।  उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्‍यो । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको छ । शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ । उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह, एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

विपद्को समयमा देखा पर्न सक्ने सुरक्षा चुनौती प्रति नेपाल प्रहरी थप संवेदनशील
२०८३-०५-१४

काठमाडौं, रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको छ। सुरक्षाकर्मीहरु विपदको समयमा खोज तथा उद्दारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताकासाथ लागि परेको हो । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना शुक्रबार पक्राउ  परे । धादिङ गल्छी गाउँपालिका-४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा सेफ फेला पारी सेफ भित्र रहेको नगद निकाली चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ९२ लाख ६८ हजार ५ सय ५ रूपैयाँ समेत प्रहरीले बरामद गर्‍यो ।यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाममा भ्रम सृजना गर्ने रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की पक्राउ परे । उनले बाढी प्रभावितहरूको उद्दार तथा राहत संकलनको लागि नेपाल सरकारद्वारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ लाख २० हजार रूपैयाँ रकम सहयोग गरेको भनी च्याट जिपिटिको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालहरूमा पोष्ट गरेका थिए । यस्तै बाढीले बगाई ल्याएको शवबाट कानको मुन्द्रा चोरी गर्ने चितवन भरतपुर महानगरपालिका-१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरूङ समेत २ जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गर्‍यो । प्रहरीले यस्ता कार्य हुन नदिन र भएका आपराधिक क्रियाकलापलाई कानूनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जालको अनुगमन, निगरानी, प्रहरी परिचालनलाई प्रभावकारी बनाएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानुनी दायरमा ल्याउन नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउ धनको सुरक्षाका साथै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ । साथै विपद्को नाममा हुन सक्ने साइबर स्क्याम बारे आम नागरिकलाई समेत नेपाल प्रहरीले सचेत गराउँदै आइरहेको छ ।’ बाढी प्रभावित क्षेत्रहरूमा हुन सक्ने जोखिमका कारण एवम् थप जन धनको क्षति न्यूनीकरण गर्न आम नागरिकहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । त्यस्तो समयको मौका छोपी आपराधिक मनसाय भएका व्यक्तिहरूले चोरी, लुटपाट गर्न सक्ने कार्यलाई मध्यनजर गरी नेपाल प्रहरीले गस्ती एवम् निगरानी कार्यलाई अझ तीव्र एवम् प्रभावकारी बनाएको छ । विपदको समयमा सडक तथा पुल अवरूद्ध हुँदा उद्दार एवम् राहत वितरणमा कठिनाई भइरहेको हुँदा अवरोध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ । घाइतेको उद्दार एवम् विस्थापितहरूलाई राहत वितरण कार्यमा कुनै पनि त्रुटि नहुने गरी कार्य गर्न नेपाल प्रहरी सचेत छ । यस्ता आपराधिक गतिविधि भइरहेको वा हुनसक्ने सुचना तथा बाढी प्रभावित स्थलमा भेटिएका वहुमुल्य सामानहरु सुरक्षित राखी यथाशिघ्र नजिकको प्रहरी कार्यालय तथा १०० मा जानकारी गराउनु हुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।