अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०७-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका-५ घर भएकी ३५ वर्षीया सजिना थिङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय ९० ट्याब्लेट र नगद ६२ हजार ८ सय ५० रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सजिनाको कोठा तसासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रूपेश घर्ती मगर समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-१२ बस्ने ३१ वर्षीय बालराम पौडेल र ३५ वर्षीय नवराज चालिसेको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ८ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम २ सय मिलिग्राम सहित म्याग्दी रघुगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय सन्दिप शेरपुन्जालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६९० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्युठान, प्युठान नगरपालिका-२ जुम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय १० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २५ वर्षीय विश्वास केसी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठान र अस्थायी प्रहरी पोष्ट बागदुलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २३ मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने २६ वर्षीय खिम बहादुर कटुवाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-८ चौर्वाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय जितेन मण्डललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.७ प ६२६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र भोमिन २० ट्याब्लेट सहित रत्ननगर नगरपालिका-१३ बस्ने २६ वर्षीय सुमन थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले ना. ६२ प ८४५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-२ मनकामना टोल बस्ने ६० वर्षीय महादेव मेहतलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ८ सय ६४ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।