प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात भएका उल्लेखनीय कार्यहरू

२०८३-०२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा विभिन्न प्रयासहरू भएका छन् । 

जसमध्ये प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण, नीतिगत, कानुनी तथा संगठनात्मक सुधार, संस्थागत क्षमता विस्तार,  समुदाय-केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार विकास तथा सेवा विस्तारका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् ।

प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धितर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्मलाई आकस्मिक समस्या समाधानको लागि ५% ब्याजदरमा २ लाख रूपैयाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा बिस्तार गरिएको, यस अवधिमा प्रहरी कल्याण कोषबाट ४,८४७ जना प्रहरी कर्मचारीलाई २,३८,७३,२३,९०५ रुपैयाँ बराबरको सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारी साधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी, आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको छ । प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० लाई संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा बिस्तार गर्नुका साथै प्रहरी कल्याण कोषबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र छरितो हुने गरी व्यवस्था मिलाइएको छ । 

यसैगरी प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरणतर्फ नेपाल प्रहरी प्रधान कार्यालयमा Artificial Intelligence And Advance Analytics Cell (AI-AAC) को स्थापना गरी सञ्चालन गरिएको, अभियुक्त र कसूरदारको अभिलेखीकरण (Recording) र ट्रयाकिङ (Tracking) प्रणाली सम्बन्धी SOP- स्वीकृत भई कार्यान्वयनमा आएको छ । यस अवधिमा ६७४७५३ जनालाई चारित्रिक प्रमाण पत्र वितरण गरिएको छ । हाल नेपाल प्रहरीमा संचालनमा रहेको प्रहरी मोबाइल एप मार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको, विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा प्रदेशका नाकाहरू सहित देशभरका विभिन्न स्थानमा १०४२ वटा CCTV क्यामेरा जडान भएको छ ।  

नीतिगत, कानुनी तथा संगठनात्मक सुधारतर्फ सरूवा कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा तथा पदस्थापन भएका प्रहरी कर्मचारीहरूलाई आफ्नो दरबन्दीमा हाजिर भएपश्चात मात्रै दर्ज्यानी चिह्न प्रदान गर्ने पद्दतीको शुरूवात गरिएको छ । संगठनको निष्पक्षता, पारदर्शीता र व्यावसायिक मर्यादालाई अक्षुण्ण राख्ने उद्देश्यले बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधी तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर समिति गठन भई छलफल अगाडि बढाइएको, 

कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा प्रतिवेदन,२०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, Training Need Analysis (TNA) कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरीका लागि आवश्यक हातहतियार तथा खरखजना र भिड नियन्त्रणका लागि आवश्यक असवावका सामाग्रीहरूको आवश्यकताको मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, जेन-जी (gen-Z) लगायतका युवा पुस्ताहरूको अभिरूची र जोखिमको विश्रलेषण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भिड नियन्त्रणको क्रममा Baton/Firearms को प्रयोग मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भीड नियन्त्रणको विशिष्टिकृत प्रशिक्षण क्षमता विकासको निमित्त मापदण्ड निर्माण गर्ने सम्बन्धी प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल सरकारबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीका नेपाल प्रहरीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन भइरहेको, नेपाल प्रहरी ठाडो निवेदन उपर छलफल र मेलमिलाप सम्बन्धि कार्यविधि,२०८२ स्वीकृत भई कार्यान्वयनको लागि देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । 

संस्थागत क्षमता विस्तारतर्फ देशभरका विभिन्न १७ वटा प्रहरी कार्यालयका लागि ४८ हजार ९ सय २९ वर्ग मिटर जग्गा प्राप्ति भएको, कार्यसम्पादन मूल्यांकन मार्गनिर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादनको स्तर मापन गर्ने पद्धतिको शुरूवात, नेपाल प्रहरीमा नयाँ UN (FPU) मिशन स्थापनाको लागि UNDPO मा प्रस्ताव पठाइएको र यसका लागि नियमित समन्वय गरिएको, नेपाल प्रहरीमा ड्रोन तथा एन्टी-ड्रोन इकाई स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइएको, स्वदेश तथा विदेश तालिम अन्तर्गत ११५०० जना जनशक्तिलाई प्रशिक्षण प्रदान गरिएको छ ।

समुदाय केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रमतर्फ गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय कृष्णबहादुर कार्कीको स्मृतिमा देवीस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका वडा नं ७ घमिर गुल्मीमा रू. ५,००,००० बराबरको अक्षयकोष स्थापना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. १ मा र बाराको महागढीमाई नगरपालिका वडा नं १० मा न्यानो कपडा वितरण गरिएको, पर्साको वीरगंजस्थित मानवसेवा आश्रममा र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं २ स्थित गुरूकुल, कैलास आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । प्रहरीको सम्पर्कमा आउने बालबालिका र प्रहरी कर्मचारीका कम उमेरका बालबालिकाहरूको स्याहारका लागि १० वटा प्रहरी कार्यालयहरूमा प्रति जिल्ला रू. १,५०,००० रकम उपलब्ध गराइ बालमैत्री कक्ष स्थापना गरिएको छ । सो अवधिमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ६,५१७ वटा कार्यक्रममार्फत ११,३३,९६२ जना नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

सो अवधिमा पूर्वाधार विकास तथा सेवा विस्तारतर्फ जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय  नवलपरासी पूर्व सहित इलाका प्रहरी कार्यालयहरू कोहलपुर, बरहथवा, बुटवल, गढवा, सिम्रौनगढ र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु गरी ८ वटा प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्‌घाटन भएको छ ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्‌घाटन
२०८३-०८-०४

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्‍घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको CUG सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १ सय २२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link पठाउनुका साथै एक जना प्रहरी कर्मचारीको टेलिफोन मार्फत गुनासो सुन्नु भई उक्त डेस्कको औपचारिक शुभारम्भ गर्नुभएको हो । साथै उहाँले उक्त डेस्कको निरीक्षण एवम् अवलोकन गर्नुका साथै उक्त डेस्कबाट प्रवाह हुने सेवा बारे जानकारी समेत लिनुभयो ।  प्रहरी संगठनको जगको रूपमा रहेका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका कर्मचारीहरूको पेशागत जीवनलाई अझ सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउन तथा कार्यक्षेत्रमा भोग्नु परेका समस्या, कठिनाई, विभेद र गुनासाहरूलाई उचित सम्बोधन गर्ने उद्देश्यले उक्त डेस्कको स्थापना भएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासो, पीरमर्काहरू विभिन्न तहहरू पार गरेर नेतृत्व तहसम्म आइपुग्न कठिन भएको कुरालाई मनन गर्दै ती गुनासो तथा पीरमर्काहरू अझ द्रुत र छिटो गतिमा सम्बोधन गर्ने गरी यो डेस्क स्थापना गरिएको बताउनुभयो । आधारभूत तह प्रहरी संगठनको आधारभूत स्तम्भ हुनुका साथै सडकदेखि सीमा सम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले देख्ने र महसुस गर्ने असली अनुहार भएको चर्चा गर्दै आधारभूत तह सन्तुष्ट नभए सम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिनाई हुने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक केसीले प्रहरी कर्मचारीहरूको गुनासोको प्रभावकारी सम्बोधन समग्र कार्यसम्पादनसँग जोडिएको हुनाले यो डेस्क केबल गुनासो दर्ता गर्ने ठाउँ मात्र नभई नेतृत्व तह र आधारभूत तह बीचको विश्वासको सेतु भएको उल्लेख गर्दै गुनासोकर्ताहरूको गोपनीयतालाई विशेष प्राथमिकतामा राखी हरेक गुनासोहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै डेस्कको प्रभावकारी संचालन गर्न डेस्कको जिम्मेवारीमा खटिएका प्रहरी कमर्चारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी शिक्षालय, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, प्रदेश प्रहरी तालिम केन्द्रहरू, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, नेपाल प्रहरी पहरा गण, काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण तथा प्रदेश प्रहरी गणहरू सम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  नेपाल प्रहरी संगठनको ८२ % भन्दा बढी जनशक्तिहरू आधारभूत तहका कर्मचारीहरू रहेको कुरालाई मनन गर्दै प्रहरी नियमावली २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी यस डेस्कको स्थापना गरिएको हो । नेपाल प्रहरीका विशेष गरी प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका प्रहरी कर्मचारीहरूले जायज गुनासाहरू स्वस्फूर्त प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नु, प्रहरी कर्मचारीहरूका लागि सहज, पहुँच योग्य, गोप्य, निष्पक्ष र एकीकृत प्रणाली स्थापना गर्नु, प्राप्त गुनासाहरूको निष्पक्ष, प्रमाणमा आधारित र शीघ्र सम्बोधन गर्नु, गुनासो सम्बोधनका लागि जिम्मेवार संयन्त्रहरूको प्रभावकारिता अभिवृद्धि गर्नु, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीहरूमा जवाफदेहिता अभिवृद्धि गर्नु, संगठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरीहरूको पहिचान गरी नीतिगत, प्रशासनिक तथा कल्याणकारी सुधारका उपायहरू अवलम्बन गर्नु यस डेस्क स्थापनाको मुख्य उद्देश्य रहेको छ । 

वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्‍त नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताउनुभएको छ । प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदान-प्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग र अनुसन्धान तथा अभियोजन बिचको समन्वयलाई संस्थागत बनाउनुपर्ने बताउँदै सीमापार वित्तीय कारोबार र अपराध सञ्जालको हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग-३’ पुस्तकको विमोचन गर्नुभयो । विमोचित पुस्तक विगतको अनुसन्धानको अनुभव, चुनौती, सिकाई र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास रहेको उल्लेख गर्दै यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताको लागि सिकाईको स्रोत बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अपराध अनुसन्धान विभागको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षमता विकास, जटिल र संवेदनशील अपराधको अनुसन्धानको मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढिकरण र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो । यसै अवसरमा आयोजित कार्यशाला गोष्ठी समयसापेक्ष र अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानको विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण, प्रमाण संकलनदेखि अभियोजन र फैसलासम्मको प्रकृयामा सुधारका उपायहरू तथा सम्बन्धित निकाय बिचको समन्वयलाई थप प्रभावकारी बनाउन व्यावहारिक सुझाव प्राप्त हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक केसीले वर्तमान अवस्थामा अपराधको स्वरूप, अपराधीको कार्यशैली र अपराधको सञ्जाल तीव्र रूपमा परिवर्तन भइरहेको, प्रविधिको विकासले अपराध गर्ने तरिका परिवर्तन भइरहेको एवम् विशेष गरी बैंकिङ कसूर, वित्तीय ठगी, सहकारी तथा लगानी सम्बन्धी अनियमितता, अनलाईन मार्फत हुने आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय कारोबारको बढ्दो जटिल स्वरूपले अपराध अनुसन्धानमा नयाँ चुनौती सामना गर्नुपर्ने बताउनुभयो ।  वित्तीय अपराधको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक अनुसन्धान प्रणालीतर्फ रूपान्तरण गर्दै नवीनतम् प्रविधिको प्रयोग, डिजिटल फोरेन्सिक क्षमताको अभिवृद्धि, विशेषज्ञ जनशक्तिको विकास र आवश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउँदै कुनै पनि दबाब र प्रभावबाट मुक्त रहि कानुन बमोजिम उत्कृष्ट कार्यसम्पादन गर्न समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता दिनेश प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाई (मैनाली) ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता ज्ञान प्रसाद भुषालले वित्तीय अपराध अनुसन्धानमा अभियोजन तथा फैसलाका पक्षहरू सम्बन्धी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहन कुमार थापाले वित्तीय अपराधको अवस्था, प्रकृति र प्रवृत्ति सम्बन्धी, साईबर ब्यूरोका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले वित्तीय अपराध अनुसन्धानमा डिजिटल प्रमाण संकलन सम्बन्धी तथा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले वित्तीय अपराधको अनुसन्धानमा सम्पत्तिको खोजी र चुनौतीहरू सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रस्तुतीकरणका विषयहरूमा सहभागीहरू बिच वृहत्त छलफल समेत भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पदाधिकारीहरू, नेपाल धितोपत्र बोर्ड, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नेपाल बैंकर्स एसोसिएसन, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, वित्तीय जानकारी इकाई, नेपाल बीमा प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  साथै प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘अपराध अनुसन्धान विभागको विशिष्टिकरण तथा प्रविधिमैत्री अपराध अनुसन्धान’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक केसीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुखहरू तथा अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अधिकृतहरूसँग अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने लगायत समसामायिक विषयमा अन्तरक्रिया र छलफल समेत गर्नुभयो । सो अवसरमा अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक गोबिन्द पुरीले अपराध अनुसन्धान विभागको विद्यमान् संगठनात्मक संरचना, अपराध अनुसन्धान विभागको विकासक्रम, विशिष्टिकृत अनुसन्धान इकाईहरू, अनुसन्धान गर्ने इकाईहरूको संख्यात्मक विवरण, अपराध दर्ता संख्याको प्रदेशगत विवरण, त्रिवर्षीय मुद्दा दर्ता तथ्याङ्क लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-२८

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले छठ पर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विगतमा घटेका घटनाहरूको विश्लेषण गरी सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छठ पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा शनिबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक केसीले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले छठ पर्वको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आ-आफ्नो क्षेत्रमा अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउनुभयो । छठ पर्वको समयमा नदी, तलाउ र पोखरीका घाटहरूमा ठूलो भीडभाड हुने भएकाले विशिष्ट  व्यक्तिहरूको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति अपनाउनुपर्ने उहाँले बताउनुभयो । पर्वको समयमा कुनै पनि घटना हुन नदिन थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगमा विशेष संवेदनशीलता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक केसीले चाडपर्व पश्चात हुन सक्ने अवाञ्छित गतिविधिहरू सम्बन्धी सूचना संकलन गरी विशेष सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूबाट छठ पर्वको समयमा अपनाइएका सुरक्षा योजनाबारे जानकारी समेत लिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-२२

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नजिकिँदै गरेको चाडपर्वहरू लक्षित सुरक्षा योजना अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालन एवम् कार्यान्वयन गरी कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रम बीच नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक केसीले काठमाडौं उपत्यकाको प्रभावकारी सुरक्षा व्यवस्था कार्यान्वयनलाई प्राथमिकतामा राखि चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी, लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक केसीले चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै ट्राफिक व्यवस्थापनलाई नागरिकको अपेक्षा अनुरूप सहजीकरण गरी आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा विशेष जोड दिनुभयो । साथै प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । विशेष गरी चाडपर्वहरूको समयमा पटका लगायतका विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, चुनौतीहरू र अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत समसामयिक विषयवस्तुको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थितिको रहेको थियो ।

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न
२०८३-०७-२०

काठमाडौं,  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार आयोजित प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूलाई सह-प्राध्यापक र विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले सहायक प्राध्यापकको प्रमाणपत्र प्रदान गर्नुका साथै उहाँहरूलाई सम्मान समेत गर्नुभयो । स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवा मार्फत जनताको सेवामा समर्पित हुने सोचका साथ नेपाल प्रहरीले नेपाल प्रहरी मेडिकल कलेजको परिकल्पना गरी अगाडि बढिरहेको छ । मेडिकल कलेजको आधार स्तम्भको रूपमा रहेको प्राविधिक जनशक्तिको प्राज्ञिक वृत्ति विकासलाई अगाडि बढाउने संगठनको नीति अनुरूप २०८१ फाल्गुण २७ गते नेपाल प्रहरी अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीच सम्झौता भएको थियो । यसै सन्दर्भमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्को २०८२ चैत्र ४ गतेको बैठकले नेपाल प्रहरी अस्पतालमा कार्यरत मापदण्ड पुरा गर्नुभएका १७ जना चिकित्सकलाई सहप्राध्यपक, १८ जना चिकित्सकलाई सहायक प्राध्यापक एवम् एक जना नर्सिङ अधिकृतलाई सहायक प्राध्यापकको पदवी प्रदान गरेको हो । सह-प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सुन्दर प्रसाद ह्योजु, प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू डा. संजय विक्रम श्रेष्ठ र डा. मनोज कुमार यादव, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. विपिन कुमार श्रेष्ठ, डा. अमिन कुमार श्रेष्ठ, डा. पवन कुमार राय र डा. सेवक श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षकहरू डा. अच्युत विक्रम हमाल, डा. सन्तोष जोशी, डा. रोजिना मानन्धर, डा. ज्योती बाँस्तोला पौडेल, डा. अञ्जली तण्डुकार, डा. दीपा चुडाल र डा. सुवास थापा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. अर्चना यादव र डा. निशेफ अधिकारी रहेका छन् ।  यसैगरी सहायक प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. रोशन कुमार निराला, डा. सन्तोष कुमार ठाकुर, डा. शिरिषचन्द्र रेग्मी, डा. प्रशंसा शाक्य, डा. श्याम कृष्ण लौडारी, डा. राजन सुवेदी, डा. सन्देश लामिछाने, डा. आशिष मोहन भट्टराई, डा. विदुर प्रसाद आचार्य र डा. रजनी महर्जन तथा प्राविधिक प्रहरी निरीक्षकहरू डा. नितु भण्डारी, डा. विजय कुमार श्रेष्ठ र डा. आलोक सिंह रहेका छन् ।  समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले सह-प्राध्यापक एवम् सहायक प्राध्यापकको प्राज्ञिक उपाधिहरू केवल व्यक्तिगत शैक्षिक उपलब्धी वा सम्मानका प्रमाणपत्र मात्र नभई वर्षौँ देखिको अध्ययन, अनुसन्धान, लगनशीलता र व्यावसायिक निष्ठाको जीवन्त प्रमाण भएको चर्चा गर्दै यी प्राज्ञिक उपाधि हासिल गर्न सफल हुनुभएका सम्पूर्ण चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई समग्र नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीले स्वास्थ्य सेवालाई थप विशिष्टिकृत, गुणस्तरीय र अनुसन्धानमुखी बनाउँदै नेपाल प्रहरी अस्पताललाई एक सक्षम प्राज्ञिक तथा कार्यात्मक मेडिकल कलेजका रूपमा विकास गर्ने दीर्घकालीन यात्रामा अघि बढिरहेको उल्लेख गर्दै नेपाल प्रहरी मेडिकल कलेजको स्थापना तथा विकासको यात्रामा आज प्राज्ञिक उपाधि हासिल गर्नुभएका प्रहरी अधिकृतहरूले आर्जन गर्नुभएको ज्ञान, अनुभव र प्राज्ञिक क्षमतालाई संस्थाको सेवा प्रवाह सुधार, अनुसन्धान, अध्यापन र नवीनतम् चिकित्सा अभ्यासको विकासमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले प्राज्ञिक पदवी प्राप्त गर्नुहुने चिकित्सकहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा बहन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रबाट सेवा प्रारम्भ
२०८३-०७-२०

काठमाडौं,  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको उपस्थितिमा साइबर ब्यूरोको कार्यालय सामाखुशीमा शुक्रबार आयोजित कार्यक्रम बीच एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) बाट सेवा प्रारम्भ भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले साइबर, अनलाइन ठगी अहिलेको चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा त्यसलाई उचित सम्बोधन गर्न त्यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण निकायहरूको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । सबै सम्बन्धित निकायहरूको सहकार्यबाट प्रभावकारी अनुसन्धान हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल सरकार (मन्त्रीस्तर) को २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम स्थापना भएको यस केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गरी साइबर स्क्याम र ठगीहरूलाई यथाशीघ्र प्रतिकार्य गरी जोखिम घटाउँदै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको   छ । साइबर ठगी सम्बन्धी उजुरी तथा सूचनाहरूलाई २४ सै घण्टा प्राप्त गर्नका लागि सम्पर्क अधिकृत तोकी १२४७ आकस्मिक फोन नम्बर समेतको व्यवस्था गरिएको छ । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, साइबर ब्यूरोका प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक नवीन्द अर्याल, विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, डिजिटल वालेट/भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरू, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।