नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०१-१७
- A
- A-
- A+
काठमाडौं, हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो ।
अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै प्रहरी महानिरीक्षक थापाले दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आगामी दिनमा समेत अझ प्रभावकारी रूपमा एक आपसमा सहयोग र समन्वय हुने चर्चा गर्नुभयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।
साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिमरत अधिकृतहरूको तर्फबाट महासेनानी विष्णु थापाले धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।