अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-०१
- A
- A-
- A+
काठमाडौं, कीर्तिपुर नगरपालिका-३ सल्यानथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ४० ट्याब्लेट, नाईट्राभेट १ सय ट्याब्लेट र नगद २८ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ बर्षीय राजु मेटरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध गाँजा ३० ग्राम सहित सोही नगरपालिका-२ बर्दिबास घर भएका २६ वर्षीय देवराज विकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा बर्दिबास नगरपालिका-१ लामाटोल बस्ने ६० वर्षीया सुन माया लामासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले सुन मायाको कोठा तलासी गर्दा अवैध लागूऔषध गाँजा ३ सय ५० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
बैतडी, पाटन नगरपालिका-६ अर्तोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित डडेल्धुरा अजयमेरू गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, हरिनगर गाउँपालिका-७ बस्ने ५० वर्षीय मिकाईल मियालाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट समेतबाट खटिएको प्रहरीले उनको घर नजिकै लुकाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।