प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक थापाले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । 

प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
२०८२-०२-३०

काठमाडौं, ३० जेठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा भट्टले विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । सो अवसरमा भट्टले विपद्को समयमा नेपाल प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको चर्चा गर्दै विपद्‍को समयमा आम नागरिकको उद्दार तथा राहत कार्यमा अग्रसर एवम् क्रियाशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापन कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले थप सहयोग र समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यालयको स्थापना तथा उद्देश्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । निरीक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुरेश सुनार, उपसचिव निशान राज गौतम लगायतका प्राधिकरणका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
२०८२-०२-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।      कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण
२०८२-०२-२२

काठमाडौं, विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे
२०८२-०२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०२-११

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले दुर्व्यसनमुक्त टोखा नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसी, शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा. कृष्ण सुबेदीले लगायतका महानुभावहरूले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।   कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।