अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०२-०६
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो ६ सय ४० ग्राम सहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ खजहना चिल्ड्रेनपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय राहुल हरिजनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय प्रताप सिंह मोक्तानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.६३ प २५६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र २७ वर्षीय सौरभ टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, नाइट्राभेट ७० ट्याब्लेट र मोबाइल १ थान सहित जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ डिगियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ६८ वर्षीय खिचडी बाबा भन्ने राम कुमार महतोलाई अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम, चरेश ३ सय ग्राम, २८ हजार ५ सय नेपाली रूपैयाँ, ११ हजार १ सय भारतीय रूपैयाँ र तराजु २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १५ एम्पुल, एभिल १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय जिबन राई र सोही उपमहानगरपालिका-५ बस्ने ४२ वर्षीय अर्जुन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने ४५ वर्षीय गजेन्द्र कुमार याखालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.३७ प ८०२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सर्लाही, पर्सा गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रह्मपुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय रबि कुमार यादव र २२ वर्षीय राहुल कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०-७०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।