अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-०७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय दोर्जे थिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-७ बस्ने ४० वर्षीय रामकृष्ण प्रजालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-३ कामाटोली गोपीचोक बस्ने ५१ वर्षीया देखन राजबंशी माझीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
लमजुङ, सुन्दरबजार नगरपालिका-८ बलीथुम बस्ने २४ वर्षीय बिशाल परियारलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, फेनारगन १० एम्पुल, सिरिज्याक १० एम्पुल र आईपिपिएल १० एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।