अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१५ देवी गाउँबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्राम सहित धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका वडा नम्बर ८ र ११ बाट नियन्त्रित लागूऔषध सहित ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रित लागूऔषध ट्रामोल ७ सय ९५ क्याप्सुल र कोलिवान ७ सय ८५ पिस सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र ५ पिस सिरिन्ज सहित बर्दघाट नगरपालिका-४ मर्चाघोला बस्ने ३३ वर्षीय छेवाङ लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रोहित बिशुंखेलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बेलडागी बस्ने ४० वर्षीय सन्बिर तामाङ र १९ वर्षीय रोमन गुरूङ रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित धनकुटा नगरपालिका-१ हिले बस्ने ३९ वर्षीय दिनेश तामाङ समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको ईभि गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक तामाङ समेत २ जनालाई पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपलिका-७ दीपनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ घर भएका २३ वर्षीय महेश बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।