प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२-०२-११

  • A
  • A-
  • A+
Share

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।   

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले दुर्व्यसनमुक्त टोखा नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसी, शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा. कृष्ण सुबेदीले लगायतका महानुभावहरूले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।  

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
ट्राफिक प्रहरीद्वारा २० वटा दुई पाङ्ग्रे सवारी साधन हस्तान्तरण
२०८२-०३-३०

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालीगाउँ, काँडाघारी, कालीमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८२-०३-०९

काठमाडौं, लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाले प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष थापाले ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरूपयोग विरूद्ध ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । लागूऔषधको असर र यसको प्रभावबारे आम जनसमुदायमा अभियानमूलक सचेतना विकास गर्नु र वास्तविकतबारे सबैलाई जानकारी गराई लागूऔषध  नियन्त्रणमा समुदायको भूमिकालाई बढाउन अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  केन्द्रकी सचिव श्रीमती शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण
२०८२-०२-३०

काठमाडौं, ३० जेठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा भट्टले विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । सो अवसरमा भट्टले विपद्को समयमा नेपाल प्रहरीले खेलेको भूमिका सह्रानीय रहेको चर्चा गर्दै विपद्‍को समयमा आम नागरिकको उद्दार तथा राहत कार्यमा अग्रसर एवम् क्रियाशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापन कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले थप सहयोग र समन्वय गर्ने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव बन्धु प्रसाद बास्तोलाले विपद्का सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यालयको स्थापना तथा उद्देश्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । निरीक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुरेश सुनार, उपसचिव निशान राज गौतम लगायतका प्राधिकरणका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
२०८२-०२-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।      कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५

काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्‍वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे
२०८२-०२-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  साथै सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह-प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ ।