बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-१४
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने दोलखा भिमेश्वर नगरपालका-३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौ महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।