अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-१४
- A
- A-
- A+
झापा, दमक नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय किरण राई र भारत बिहार राज्य पुर्निया नगानिगम पुर्निया सिटी-३४ बस्ने ३६ वर्षीय मनिष कुमार गुप्ता रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेकोउ छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-५ केक्राचोक बस्ने २५ वर्षीय रूपक गडतौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-९ बस्ने ३८ वर्षीया भुमाया तामाङ र ४५ वर्षीया सन्तमाया तामाङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट कलैयातर्फ जाँदै गरेको ना. ५ ख ३६७८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय कस्मिन सिंह र सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय समिर खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ४९३६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-८ बाल्मिकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ४ सय ३० मिलिग्राम र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरीफ कवाडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय १० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय जय कुमार बल (तामाङ) लाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९९४ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-४ धोबीघाट बस्ने २४ वर्षीय नरेश बिसी र तातोपानी गाउँपालिका-२ डाँङ्गीबाडा बस्ने २८ वर्षीय मन बहादुर खत्री रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यान चालक मन बहादुर र सहचालक नरेशलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १ सय ६७ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र फेनारगन १ सय ६६ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत कुस्मा नगरपालिका-४ बस्ने २६ वर्षीया सीमा दर्जी र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनस्थित उनीहरूले सञ्चालन गरेको पसलमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
इलाम, चुलाचुली गाउँपालिका-४ सयपत्री टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम र नगद ३३ हजार ८ सय ५० रूपैयाँ सहित सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अन्जन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।