प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित कार्यक्रमबीच १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन सम्पन्न भएको छ ।   

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरण गरी व्यावसायिक प्रहरी बनाउने कठिन यस तालिमलाई अनुशासित, मर्यादित, लगनशील र धैर्यवान भई उच्च मनोबलका साथ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै उहाँले तालिमको अवधिमा सिकाइने ज्ञान सीप र कौशलले व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गर्नुभयो । 

सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । 

साथै प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभयो ।  

निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा तथा विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशालाको समेत अवलोकलन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गर्नुभयो । 


सम्बन्धित समाचार
३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहनुभएको छ । यसैगरी प्रहरी उपरीक्षकहरू अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०४-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा २ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्टले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८२-०४-११

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा आइतबार आयोजित एक समारोह बीच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गर्नुभएको थियो ।   सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो । सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा, अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०३-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०३-०८

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध अनुसन्धान गर्ने पहिलो निकायको रूपमा रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धन गरी प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।   कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य प्रसाद शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न पहिलो पंक्तिमा रहेर अहोरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो । साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समन्वय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।   राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिक/घरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत(जातीय भेदभाव) अन्त्यका लागी सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथी आक्रमण लगायतका विषयहरूमा छलफल भएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।