अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०२-२५
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र नाईट्राभेट ९० ट्याब्लेट सहित भारत महाराजगंज नौनता ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको जिएए ०१-२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ टुक्रे डेरा गरी बस्ने सोही नगरपालिका-७ हाङ्देवा घर भएका २६ वर्षीय सुजन तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत पश्चिम बंगाल दार्जलिङ घर भएका २३ वर्षीय नितेन वर्मनसंग किनेको भन्ने खुल्न आएपश्चात नितेनलाई फुङलिङ नगरपालिका-२ हेलिप्याड नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, साम्सी गाउँपालिका-५ पोखरभिण्डा ब्रह्मस्थानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नोफिन ३ एम्पुल सहित बर्दिबास नगरपालिका-१४ राना टोल बस्ने २८ वर्षीय संजित महतोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले मधेश प्रदेश-०२-००५ प ८८१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित खाजा पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र नगद ५२ हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-४ घर भएकी ४२ वर्षीया कुमारी तामाङ, काभ्रे रोशी गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रविन उप्रेती र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय विष्णु बाँनिया रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कुमारीको खाजा पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
जाजरकोट, जुनिचाँदे गाउँपालिका-७ निपाने डेरा गरी बस्ने कुसे गाउँपालिका-३ घर भएका ३७ वर्षीय निरज कुमार पुनलाई अवैध लागूऔषध अफिम करिब १ किलो १ सय ५० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उनलाई उक्त अफिम सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, मधुवन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईस्राइलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय अबिनाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ अमहा सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १९ किलोग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने २१ वर्षीय लक्ष्मण माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाइकललाई प्रहरीले बरामद गरेको छ ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ पुर्वाञ्चल क्याफेबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २३ एम्पुल, डाईजेपाम १९ एम्पुल, फेनारमाइन ५० एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जिवन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले सन्तोषलाई लुपिजेसिक २० एम्पुल, डाईजेपाम १९ एम्पुल र फेनारमाइन ४१ एम्पुल र जिवनलाई लुपिजेसिक ३ एम्पुल र फेनारमाइन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।