ट्राफिक प्रहरीद्वारा २२ वटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण
२०८२-०२-२५
- A
- A-
- A+
काठमाडौं, विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १० वटा मोटरसाइकल र १२ वटा स्कुटर गरी २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।