अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२८
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-३ स्थित ग्राण्डी अस्पतालको पछाडिबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेस्ट बंगाल ईस्लामपुर-११ घर भएका ४० वर्षीय साशिक आलम र भारत बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम रहेका छन् । काठमाडौं उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट भारत पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा साशिक र मोहमद मन्जुरसँग बिक्री गर्नको लागि खैरो हेरोइन रहेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी फलामको रड प्रहार गरे पश्चात प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा दुबै जना घाइते भएका थिए । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने अर्नमा गाउँपालिका-३ हरकट्टा घर भएका २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गोल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय श्याम कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोल चोकबाट सैनिक चोकतर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४ प ८३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-७ शिवालय मन्दिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय प्रवेश लिम्बु र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय सुजन कार्कीडोली रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवापुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय अनिस थापा, हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रशान्त भन्ने तेजन स्याङ्तान र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय एलिश लुङ्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद २२ हजार ५ सय १० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने कैलाश गाउँपालिका-९ घर भएका १९ वर्षीय निश्चल लामा नेगी र सोही उपमहानगरपालिका-९ डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।