प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मितेरी सहकारी संस्थाका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका प्रतिवादी बर्दिया बाँसगढी नगरपालिका-७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् । एनसिबि PHNOM-PENH कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योती बहादुर फरार रहेका थिए ।  

प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योती बहादुर बीच सम्पर्क गराएको, ज्योती बहादुरले सहकारी संस्थाका सचिव कृष्ण बहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । ज्योती बहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता उल्लेख भएको, ज्योती बहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योती विरूद्ध रेड नोटिस जारी भएको थियो । 

यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।