प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

२०८२-०३-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गोपाललाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

 डडेलधुरा, आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ । पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

किर्ते गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

काठमाडौं, विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने  सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका सामान समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले बिगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ । उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरण सहित चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०१

काठमाडौं, राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय YU WANG लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामन समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०१

इलाम, माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।