प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८२-०३-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटल त्रिमुर्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर गठ्ठाघर बस्ने सिराहा मिर्चैया नगरपालिका-६ घर भएका २६ वर्षीय किशन शाह, काठमाडौं बानेश्वर बस्ने धनुषा, धनुषाधाम नगरपालिका-२ घर भएका २० वर्षीय सुभम कुमार यादव र महोत्तरी गौशला गाउँपालिका-८ घर भएका १९ वर्षीय आकाश शाह रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले होटलको ३०६ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार किशनगञ्ज बस्ने ४७ वर्षीया जन्हेरा खातुन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको को.१ ह ९३९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय मेघराज राई र सुनसरी दुहवी नगरपालिका-९ बस्ने २६ वर्षीय नबिन हुसेन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलाय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ६० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय मनिष गुरूङ, २२ वर्षीय बिशाल राई र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय जयमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डागीहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने ३३ वर्षीय राजेश तामाङ, २८ वर्षीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकर बस्ने ३७ वर्षीया हेमकला कुमारी कोहारलाई नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रितम गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २४ वर्षीय राजेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८२-०८-१९

काठमाडौं, लमजुङ बेसीशहर नगरपालिका-२ भकुण्डे बस्ने ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा चितवन साविक बछौली गाविस-१ हाल रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०८-१९

स्याङ्जा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी साविक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदातल स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले उक्त मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८२-०८-१९

काठमाडौं, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “Limit the Speed, Save The life” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् । पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

३१ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि शुरू
२०८२-०८-१७

काठमाडौं, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ बुधबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको चर्चा गर्नुभयो । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्र रूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उहाँले बताउनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालयद्वारा बैण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।   प्रतियोगिता अन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल ०-० को बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।