अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०३-१७
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ शिवालय टोल बस्ने २६ वर्षीय बिर बहादुर राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ७ सय १४ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-५ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर शाही र २७ वर्षीय सालु शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रोल्पा लुङग्री गाउँपालिका-७ बस्ने ३२ वर्षीय पुनम पुन मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
धादिङ, गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम र पोलेन ४ किलो ८० ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरूप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ८ सय ९२ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ३६ वर्षीय भुईदल राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, देवानगंज गाउँपालिका-३ यादव टोल बस्ने बिरेन्द्र यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।