जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
२०८२-०३-२८
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपैयाँ र ३ सेट कौडा सहित पक्राउ गरेको हो ।
जुम्ला, पातारासी गाउँपालिका-५ लासी बजार बस्ने ४८ वर्षीया उर्मीला बुढाले संचालन गरेको ओम हिमा होटलमा जुवातास खेलिरहेको अवस्थामा उर्मिला समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।
काभ्रे, बनेपा नगरपालिका-७ गोदाम चोक डेरा गरी बस्ने भारत बिहार पुर्वी चम्पारण-११ घर भएका रबि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रबि समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।