अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
काठमाडौं, ३२ असार
कैलाली, धनगढी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ डि गाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ८०१९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-२ आमतोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-९ बरगाछी बस्ने ३५ वर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका-१ सरणपाडा बस्ने ३३ वर्षीय आकाश खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले कर्सियाबाट रंगेलीतर्फ आउँदै गरेको को.२५ प ८१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित नवलपरासी पश्चिम सरावल गाउँपालिका-६ बरसारे बस्ने ३१ वर्षीय सन्दीप केवटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट स्याङजा वालिङतर्फ जाँदै गरेको ग.१ ख ७६२५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।