अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०५
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने शंखरापुर नगरपालिका-२ पटाप घर भएका २६ वर्षीय जोन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-४ चौराहा बस्ने १९ वर्षीय आयुष मल्ललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ सिंहपुर राना टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने २५ वर्षीय अजय धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-३ दोकडाँडा बस्ने ४३ वर्षीय हरिलाल न्यौपानेलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय २८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम १७ मिलिग्राम, नगद ३७ हजार ९ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित भारत विहार कटिहार घर भएका २८ वर्षीय सुरज कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय कर्ण बहादुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र ३३ वर्षीय विवेक गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले महम्दपुर देखि गुलरिया बजारतर्फ आउँदै गरेको भे.१ ह ६८७ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी अटो चालक अबधेश र अटोमा सवार विवेकलाई पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र नोर्फिन ३६ एम्पुल सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-८ बस्ने ३० वर्षीय किरण आले, सोही नगरपालिका-४ दुलेगौडा बस्ने ३० वर्षीय विशाल गुरूङ र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विशालको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-०१ चौकीटोल बस्ने २१ वर्षीय दिल बहादुर लो तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामोल ९२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सौगात मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-७ लखनास्थित घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २१ वर्षीय रामलाल भुजुवा, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय मिथुन थारू र सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय जनक थारू रहेका छन् । इलाका प्रहरी कार्यलय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।