लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०४-१४
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाको आयोजना एवम् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणको सहकार्यमा नागार्जुन नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले आपसी समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारीले यस कार्यक्रमले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका अध्यक्ष प्रताप दानीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् नागार्जुन नगरपालिका-५ का वडा अध्यक्ष महेश रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचँगुनारायणका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।