अमेरिकी दूतावासद्वारा केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई CODIS & Radian ASAP हस्तान्तरण
२०८२-०५-११
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई Combined DNA index system (CODIS)- DNA Software & Radian Atmospheric Pressure Solids Analysis Probe (ASAP) Mass Spectrometer- Drug Detection Instrument हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच उक्त प्रविधि हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । CODIS प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै Radian ASAP Mass Spectrometer ले लागूऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवम् विकासको लागि विगतका वर्षहरूमा विभिन्न परामर्श, तालिमहरू र उपकरणहरू समेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप क्षमतावान एवम् दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो । आधुनिक प्रविधिहरूको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानून कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् हराएका व्यक्तिको पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।