अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०६-०१
- A
- A-
- A+
भोजपुर, हतुवागढी गाउँपालिका-९ ज्यामिरे भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका-१ घर भई झापा शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय रूद्र बहादुर कामी, मोरङ उर्लावारी नगरपालिका-५ बस्ने ३८ वर्षीय संतोष विश्वकर्मा र झापा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय राजेश चौहान रहेका छन् । प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले को.३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बारा, बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय बिनोद पंडित कुमहार भन्ने मुसा पंडित कुमहारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ शक्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।