अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-१७
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-३ रमाईलो चोकस्थित प्लटिङ एरियाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय समिर चन्द्रवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१० भुटहाखालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेश कुमार मेहतालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.१६ प ३९९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने २२ वर्षीय रवी चौधरी र ३३ वर्षीय सुरेश विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।