अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०७-१४
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ शिवशक्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम र नगद १४ हजार ७ सय ८० रूपैयाँ सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रदिप सुनार, ३३ वर्षीय धिरज केसी, २३ वर्षीय महेश सुनार, २५ वर्षीय राम केदार सुनार र ३८ वर्षीय सुदन बिक्रम थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-५ बरगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदवारी नगरपालिका-१ बस्ने २७ वर्षीय रूपेश कुलुङ र तेह्रथुम छथर गाउँपालिका-३ बस्ने २९ वर्षीय कर्ण सुनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।