अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०७-१५
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-७ घर भएका ५२ वर्षीय महमद मन्जुर मियालाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ६० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ कुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ४२ मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर थाना बस्ने ४२ वर्षीय विनोद कुमार निषाद र २६ वर्षीय शिव रतन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ वाई ०६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २७ मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २४ वर्षीय अरूण राना, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोसी र सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले म.२ प ३५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय राजु सुनार समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज ०७०९ नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।