अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०७-२९
- A
- A-
- A+
कैलाली, लम्कीचुहा नगरपालिका-६ बागमारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा परशुराम नगरपालिका-१० बस्ने ३५ वर्षीय गणेश बहादुर डागी, आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा र डोटी जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले म.२ प ३१०७ नम्बरको मोटरसाइकलमा सवार गणेश र डम्मरी तथा से.७ प ५५२४ नम्बरको मोटरसाइकलमा सवार डम्मरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय बिष्ट र सोही नगरपालिका-१ बस्ने २५ वर्षीय राज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले से.६ प ७५९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपलिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित हल्दीबारी गाउँपालिका-३ बस्ने ३१ वर्षीय अनुप महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय देबराज श्रेष्ठ, सोही नगरपालिका-५ शान्तिटोल बस्ने ४० वर्षीय राम कुमार मौली र हल्दीबारी गाउँपालिका-३ जलथल बस्ने २० वर्षीय सुफर मडी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ चम्मनचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ किलो ८ सय ७२ ग्राम सहित बझाङ बुङ्गल नगरपालिका-७ घर भई डडेल्धुरा आलीताल गाउँपालिका-६ बस्ने ४० वर्षीय नरेन्द्र बोहरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १ हजार ९ सय ९० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २७ वर्षीय सुनिल गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४० प ७१५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ कुलुङ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सनम तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ भक्तघारी बस्ने २६ वर्षीय मनोज दर्जीलाई नियन्त्रित लागूऔषध फेनारगन ५८ एम्पुल, डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ५९ एम्पुल, सिरिन्ज ४५ पिस र नगद २३ हजार ४ सय ५५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-७ शिवनगर चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ४२ ट्याब्लेट र नाइट्रोजन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३५ वर्षीय रोशन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।