३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।