अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०८-११
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार ५ सय २५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने काभ्रे घर भएका १९ वर्षीय रोकेश लामा र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सुनसरी घर भएका २४ वर्षीय विवेक भुजेल रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१ बस्ने ४० वर्षीय नरेश पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-१ रवी स्टेनस्थित आरक्यू होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ सिर्पाली चोक बस्ने २५ वर्षीय राम कुमार गौतम, सोही नगरपालिका-१ सोल्मारी बस्ने ३२ वर्षीय योगेश शेर्मा, सोही नगरपालिका-१ सैनिक चोक बस्ने ५० वर्षीय प्रमेश राई र मोरङ, उर्लाबारी नगरपालिका-८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा ४ नम्बर कोठाबाट राम कुमार र ललितालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र नगद २८ हजार रूपैयाँ सहित तथा ८ नम्बर कोठाबाट योगेश र प्रमेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-११ गाईखर्क चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५८ ट्याब्लेट र प्रोमेथाजाइन ३३ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-३ बस्ने २२ वर्षीय प्रताप विक र २८ वर्षीय होम बहादुर तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ह २३४० नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रताप र अटोमा सवार होम बहादुरलाई पक्राउ गरेको हो ।
यसैगरी चितवन, रत्ननगर नगरपालिका-१४ पारिजात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्ट, सोही नगरपालिका-६ बस्ने बारा घर भएका ४० वर्षीय नेजाबुद अन्सारी र सोही नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१२ कुडहरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-८ बस्ने २५ वर्षीय राहुल शेरचन र सोही महानगरपालिका-६ लेकसाईड बस्ने २२ वर्षीय दिपेन छन्त्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले ग.२६ प ३७९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ बस्ने २५ वर्षीय सुवास खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ पिपरैया बस्ने २६ वर्षीय सुरज राना र सोही नगरपालिका-८ बिछुवा बस्ने २२ वर्षीय समिर बडायक रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-६ हटिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरिया टोल बस्ने २१ वर्षीय समिर लहेरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ गोलबजार नगरपालिका-६ बस्ने २६ वर्षीय राजन विश्वकर्मासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात राजनलाई गोलबजार नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।