राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ
२०८२-०८-१५
- A
- A-
- A+
काठमाडौं, राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका-६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् ।
राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।