अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०८-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित नागार्जुन नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ स्थित साबिर गाडी ग्यारेजबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ किलोग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने २९ वर्षीय ईन्द्र लिम्बु, सहिदभूमी गाउँपालिका-४ बस्ने २५ वर्षीय जिपसन लिम्बु र भारत घर भएका २६ वर्षीय साबिर आलम रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त ग्यारेजमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी ग्यारेज संचालक साबिर समेत तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१ ज २०१८ नम्बरको बोलेरो पिकअप समेत बरामद गरेको छ ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ पिण्डेश्वरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय भलराम श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले को.३५ प १८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका-५ हिरालाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलो ५ सय ग्राम सहित रौतहट यमुनामाई गाउँपालिका-४ सरूअठा टोल बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा पछाडिको भागमा २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-५ मझगवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपलिका-२ मेउडिहवा बस्ने २० वर्षीय सुभान केबट समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-७ उढरा बस्ने २५ वर्षीय तौफिक खाँ लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।