अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०९-२०
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-५ घर भएका २० वर्षीय श्रीकृष्ण तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ५० मिलिग्राम र नगद ८९ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कालिकोट रास्कोट नगरपालिका-५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी श्रीमती २० वर्षीया कृपा तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, खजुरा गाउँपालिका-७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय समि उल्ला भाटललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१८ भिमेश्वर टोल बस्ने २५ वर्षीय सचिन गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने वस्तु १ किलो ४ सय १० ग्राम, नगद ७५ हजार २ सय २५ रूपैयाँ र डिजिटल तराजु १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ सोमाइ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगन्ज टुटिबारी बस्ने २० वर्षीय राज रौनियार, ४२ वर्षीय राम अक्ष रौनियार र ४५ वर्षीय राजिब भन्ने राजु चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको यूपि ५६ बिसि ७१९६, यूपी ५६ बिएफ ५७१० र यूपि ५६ बिसि ३८५५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कञ्चनपुर, भीमदत्त नगरपाललिका-३ भाँषी स्थित रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-१ चम्फापुर बस्ने ३२ वर्षीय धिरेन्द्र खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।