अवैध लागूऔषध विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०९-२१
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ३० ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय PADALA भन्ने VEERA VENKATA SUBRAMANYAM गए राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF र YASIN ABDULLA लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इन्द्र सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुनाखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरज गुरुङ र सोही ठाउँ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-२ घर भएका २५ वर्षीय सन्दिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर तामाङ र ३१ वर्षीय हिरालाल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१ प ७८५९, लु.२६प ६६९२ र ना. ५५प ७२३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार ना.६१प ७८५९ नम्बरको मोटरसाइकलामा सवार २ जनाको खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१७ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय लक्ष्मण नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-६ डिहिकोपाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, नोर्फिन २५ एम्पुल र नगद २६ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने रामेछाप घर भएका ३६ वर्षीय चन्द्र बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गेरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।