अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२९
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बंक बस्ने २७ वर्षीय धनी बादीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ हिलेखाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३० वर्षीय बलभद्र भारती र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ बस्ने २९ वर्षीय गोबिन्द शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ कालाबन्जार चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन ४४ ट्याब्लेट र नाईट्राजेपाम ५१ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने भारत घर भएका २७ वर्षीय सुमित संजय गुप्तालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिजय लामा र उनकै श्रीमती २१ वर्षीया बन्दना थिङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले बिजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय दिल कुमार विश्वकर्मा, सोही नगरपालिका-८ पशुहाट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१६ जोरसखुवा घर भएकी १९ वर्षीया दिपा परियार, गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय अमन ताजपुरिया र दमक नगरपालिका-८ पशुहाट बस्ने मोरङ वेलबारी नगरपालिका-९ बेलचौरी घर भएकी १९ वर्षीया पार्वती चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले मे.१ ह ५६६७ नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक दिल कुमार समेत उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ बलचौर बस्ने २० वर्षीय राहुल बादी र २१ वर्षीय नृप बादी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।