राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-१०-२९
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा बिहीबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड सहित प्रशंसापत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८२’ को लोकार्पण गर्नुभयो । साथै उहाँले रस्साकस्सी खेलका विजेता तथा उपविजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो । सो अवसरमा उहाँले उक्त प्रतिष्ठानमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठलाई पुरस्कार तथा खेलकुद गतिविधमा उल्लेखनीय सहयोग पुर्याउने रूप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वार्षिकोत्सवको सुखद घडीमा प्रतिष्ठान परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै प्रतिष्ठानलाई आजको गरी मामय उचाईमा पुर्याउन आफ्नो व्यावसायिक भूमिका निर्वाह गर्नुहुने अग्रजहरू प्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरूको दुरदृष्टि र अथक लगन प्रति उच्च श्रद्धा एवम् सम्मान व्यक्त गर्नुभयो । नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशक देखि दिँदै आएको योगदान स्मरणीय रहेको चर्चा गर्दै बद्लिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकास लगायतमा आएको परिवर्तन र अपराधका नयाँ-नयाँ स्वरूपहरूलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताउनुभयो । प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धि सँगै प्रहरी सेवा प्रति जनविश्वास बढाउन पनि गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचान बनाउने कार्यमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीको एक आदर्श र अनुकरणीय संस्थाको रूपमा चित्रण गरिने यस प्रतिष्ठानको गरीमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्ण राख्न प्रतिष्ठान परिवार सदैव कटिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, एमपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।