अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-११-२७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुरूङ्ग्स गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय बिकास बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही नगरपालिका- १२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बाह्रदशी गाउँपालिका-६ पचासबिघेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका-६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुईटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २७ वर्षीय अर्मान अलिलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट र डिकोलिक २ सय ३५ ट्याब्लेट सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका-७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।