अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१२-०२
- A
- A-
- A+
झापा, दमक नगरपालिका-५ बस्ने २४ वर्षीय मोहन यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ दुधे बस्ने ३६ वर्षीय लाख बहादुर योंङहालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ७७२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका-२ बस्ने २१ वर्षीय सुशान्त चौधरी र दुहवी नगरपालिका-१० बस्ने २५ वर्षीय मेराज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने ३४ वर्षीय सुरेन्द्र जिमीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका-९ अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ८० मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-७ बस्ने ४१ वर्षीय सिद्धिमान पौड्याल, बर्दिया राजापुर नगरपालिका-६ बस्ने ३० वर्षीय श्याम चौधरी, बर्दिया गुलरिया नगरपालिका-४ तुलसीपुर बस्ने ४० वर्षीय चुडामणि बिसी र बर्दिया राजापुर नगरपालिका-६ बस्ने २५ वर्षीय गौरव चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बर्दिया शान्तिबजारबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६२ नम्बरको बसलाई तलासी गर्दा डिक्कीबाट उक्त पदार्थ फेला पारी चालक सिद्धिमान र श्याम, बस साहु चुडामणि तथा बसका सहचालक गौरवलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका-१० जिमुवा बस्ने २८ वर्षीय दिपेन्द्र जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४४ एम्पुल, फेनारगन ४४ एम्पुल र नोर्फिन ४४ एम्पुल सहित दोलखा मेलुङ गाउँपालिका-१ बस्ने २७ वर्षीय केउर उप्रेतीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उप्रेतीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।