बिचौलिया रहित नागरिकमैत्री प्रभावकारी सेवा प्रवाह नै प्रहरीको उच्च प्राथमिकता
२०८२-१२-१९
- A
- A-
- A+
काठमाडौं, समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
प्रचलित कानुनको कार्यान्वयनद्वारा विधिको शासनको प्रत्याभूति गराउँदै जेन-जी आन्दोलनको मर्म र नयाँ सरकार गठन पश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यका साथ नेपाल सरकारबाट जारी भएको “शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची” को भावना अनुरूप नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्दै आइरहेको छ ।
प्रहरी कार्यालयहरूमा सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ बिचौलियाहरू हावी भएको सूचनाहरू निरन्तर प्राप्त भइरहेको सन्दर्भमा मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिचौलिया रहित नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न परिपत्र जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “ नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित नागरिकमैत्री, पारदर्शी एवम् छिटो छरितो सेवा प्रवाह गर्नु हो । प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलीयाहरू पहिचान र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको छ ।”
जिल्ला प्रहरी कार्यालयदेखि मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयको मुख्य प्रवेशद्वार र वरिपरिका मुख्य स्थानहरूमा सिसिटिभी जडान गरी अवलोकन गर्ने/गराउने, दैनिक आउने व्यक्तिहरूको अभिलेख राख्ने र बिचौलियाहरूको प्रवेश तत्काल निषेध गरिने छ । कार्यालय परिसरमा अनावश्यक भीडभाड हुन नदिनका लागि सम्भव भएसम्म पीडितलाई मात्रै अन्यथा पीडित वा सेवाग्राहीलाई भाषाको समस्या भएमा, विकलाङ्ग वा अशक्त भएको अवस्थामा पीडित सँगै आएका नजिकको व्यक्ति वा निजले इच्छाएको व्यक्तिको पृष्ठभूमि, साथमा आउनुको उद्देश्य र औचित्य बुझेर त्यस्तो व्यक्तिको अभिलेख राखेर मात्रै प्रहरी कार्यालयमा प्रवेश गर्ने दिइनेछ ।
प्रहरी कार्यालयमा कुनै निवेदन, उजुरी दिन वा गुनासो गर्न आएको व्यक्ति आफै उजुरी लेख्न नसक्ने, पढ्न लेख्न नसक्ने अवस्थाको भएमा निजको नजिकको आफन्तलाई रोहबरमा राखी पीडितकै उपस्थितिमा प्रहरीले निवेदन, उजुरी लेख्न सहयोग गर्न सक्नेछन् । कुनै पनि घटना वा अपराधलाई सामाजिक रूपमा हल गर्ने, समाजमा नै न्याय निरूपण गर्ने वा दुवै पक्षलाई सहमतिमा ल्याइ मिलापत्र गर्ने उद्देश्यका साथ प्रहरी कार्यालयहरूमा पञ्चायती गर्ने, छलफल गर्ने जस्ता कार्य तत्काल बन्द गरी कानुन बमोजिम काम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “कुनै प्रभाव वा दबाबमा नपरी न्यायिक प्रक्रियाको पूर्ण पालना गर्दै शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ ।” काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका प्रहरी कार्यालयहरूले लापरवाही गर्दै परिपत्रको पालना नगरेमा एवम् प्रहरीको सेवा प्रवाहमा सुधार आउन नसकेको गुनासो प्राप्त भएमा कार्यालय प्रमुखहरूलाई समेत जिम्मेवार बनाई समग्र कार्यसम्पादनमा समेत मूल्याङ्कन गरिने छ ।