अनलाइन जुवा खेलाउने कार्यमा संलग्न ९ जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
काठमाडौं, अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टबाट उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप ८ थान, मोबाइल २४ थान, विभिन्न कम्पनीका भारतीय र नेपाली सिम कार्ड ३१ थान र क्याल्कुलेटर ३ थान समेत बरामद गरेको छ । उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९ सय २० रूपैयाँ ३२ पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।