करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-१२-२९
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।