प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी महानिरीक्षक दिपक थापा

 

प्रहरी महानिरीक्षक दिपक थापा नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

 

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा पिता रामशरण थापा र माता साबित्री थापाको कोखबाट वि.सं. २०२८ मंसिर ८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दिपक थापाका श्रीमती रूपा थापा, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक थापाले वि.सं. २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक थापा २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७२ साउन ८ गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।

 

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक थापाले इन्टरनेश्‍नल ट्रेनिङ कोर्ष अन बिग डाटा पोलिसिङ अफ चाइना एसियन एण्ड द नेवरिङ कन्ट्रिज, प्रोग्राम अन काउण्टरिङ ट्रान्सनेश्‍नल अर्गनाईज्ड क्राइम, गभर्नेन्स एण्ड एन्टिकरप्सन ट्रेनिङ, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, बेसिक सेक्युरिटी ईन द फिल्ड-२,ओरियन्टेसन प्रोग्राम अन एन्टि मोनि लाउण्डरिङ टु नेपाल पुलिस अफिसियल्स, अपराध अनुसन्धान, व्यवस्थापन र विकास लगायत विभिन्न २५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्दार पदक, प्रहरी सेवा पदक, परदेश सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।

 

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा काठमाडौं, मकवानपुर, रूपन्देही, मोरङ, सुनसरी, खोटाङ, रौतहट, काभ्रेपलाञ्चोक, कञ्चनपुर र डोटी जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड गर्नुका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय तथा नेपाल प्रहरी प्रधान कार्यालय बजेट शाखामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले महानगरीय अपराध महाशाखा हनुमानढोका काठमाडौं, २ नम्बर प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा, जनकपुर, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन महाशाखा एवम् तालिम महाशाखामा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको अनुभव गर्नुभएका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाको कमाण्ड समेत गर्नुभएको  थियो ।