"सत्य, सेवा सुरक्षणम्"
सन् १९०५ मा कोतवाली प्रहरीको स्थापना भएको पाइन्छ । तत्कालीन समयमा पहाडी जिल्लामा शान्ति सुरक्षाको जिम्मा सेतो फेटावाला कोतवालीको थियो । जसको काम मुख्यतः आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने रहेको थियो ।
तत्कालीन समयमा तराई जिल्लाको शान्ति सुरक्षाको जिम्मा रातो फेटा वाला कोतवालीको थियो । जसको काम आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने रहेको थियो ।
तत्कालिन समयमा सैनिकको संख्या वृद्धि गर्न अस्थाई सेनाको रूपमा मिलिसिया खडा गरिएको थियो । जसको काम शान्ति सुरक्षा कायम गर्ने, कानुनको पालना गराउने र शङ्कास्पद मानिसको निगरानी गर्ने थियो ।
सन् १८६० तिर चौकीदार प्रहरीको स्थापना भएको थियो । तिनिहरूको काम चोरी डकैती जस्ता घटना हुन नदिन चनाखो भई पहरा दिने थियो ।
तत्कालीन समयमा तराईका ५ वटा जिल्लाहरूमा अमिनी थाना स्थापना भएको पाईन्छ । जसको मुख्य काम चोरी डकैती, लुटपाट लगायत सीमावर्ती क्षेत्रमा शान्ति सु-व्यवस्था कायम गर्ने थियो ।
सन् १९३८ मा रामदल पल्टनलाई सवारी नियन्त्रण गर्नका लागि पुलिसको काम गर्ने गरी स्थापना गरिएको थियो । रामदल जमदार रामदल पुलिसको सबै भन्दा उच्च पदस्थ हाकिम थिए ।
नेपाली सेनाको रामदल पल्टन खारेज पश्चात् कार्यरत सैनिक कर्मचारीहरूलाई नेपाल प्रहरीमा सरुवा गरिएको थियो र यसलाई ट्राफिक प्रहरीमा परिणत गरिएको थियो ।
सन् १९४१ मा विराटनगर, सप्तरी र महोत्तरीमा थाना स्थापना गरेको र सोही थानाको हाकिम लेफ्टिनेन्ट अप्रेन्टिस प्रहरी रहेको थियो । यसको मुख्य कार्य सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने थियो ।
प्रहरी ऐन २०१२ लागू भएपछिको विधिवत नेपाल प्रहरी फोर्स स्थापित भएको थियो । त्यसै समयबाट नेपाल प्रहरीको रूपमा प्रहरीको विकास भई हालसम्म आएको अवस्था छ ।
पहिलो महिला प्रहरीको रूपमा चैतमाया डङ्गोल प्रहरीमा आएसँगै प्रहरीमा क्रमशः महिला प्रहरी कर्मचारीहरूको विकास हुँदै आयो । सन् १९६८ मा २५ जना महिलालाई ट्राफिक प्रहरीमा भर्ना लिएको थियो।
वि. स. २००७ साल पछि जन मुक्ति सेना र रामदल समायोजन पश्चात सडक सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न विधिवत् रूपमा ट्राफिक प्रहरीको व्यवस्था भएको पाइन्छ ।
समयको क्रमसँगै नेपाल प्रहरी संगठनमा प्रहरीलाई कमाण्ड कन्ट्रोल गर्न सिनियर अफिसर को व्यवस्था भएबमोजिम उनीहरूको अलग्गै पोसाकको व्यवस्था भएको पाइन्छ ।
वि.स. २०३६ सालमा ग्यारिजन प्रहरीको स्थापना गरिएको थियो । यसको मुख्य काम अति विशिष्ट व्यक्तिहरू, महत्वपूर्ण प्रतिष्ठान तथा सार्वजनिक महत्वका स्थलहरूको सुरक्षा गर्ने रहेको थियो ।
नेपाल प्रहरीले पहिलो पटक वि.स. २०४८ मा पूर्व युगोस्लाभियाबाट शान्ति मिसनमा सहभागिता जनाएको थियो । नेपाल प्रहरीले हालसम्म २६ प्रकारका विभिन्न मिसनहरूमा सहभागिता जनाई सकेको छ । हाल नेपाल प्रहरीबाट ४५ जना प्रहरी कर्मचारीहरू शान्तिस्थापनार्थ विभिन्न ९ देशमा कार्यरत रहेका छन् ।
२०३५ साल माघ १२ गते प्रहरी निरीक्षकको कमाण्डमा ७ जना प्रहरी कर्मचारीहरुको दरवन्दी कायम गरी विधिवत रुपमा पर्यटक प्रहरीको स्थापना भएको हो । वर्तमान अवस्थामा २८ स्थानमा २३९ जना प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन्, ।
‘समुदाय प्रहरी सेवा’ (छिमेकी प्रहरी) नामक घरदैलो कार्यक्रमबाट २०३९ सालमा पहिलो पटक सामुदायिक प्रहरी सेवाको सुरुवात भएको थियो । २०५१ सालमा पाइलट प्रोजेक्टका रूपमा काठमाडौंको महाराजगञ्जमा सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएको थियो । २०७५ कात्तिक ११ गते उद्घाटन गरिएको सामुदायिक-प्रहरी साझेदारी अवधारणा कार्यान्वयनसँगै हाल २५ हजार ४९० समिति गठन गरी थप सक्रिय र बृहत् कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।