अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०८-०४
- A
- A-
- A+
झापा, दमक नगरपालिका-८ बसन्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिक बहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा १ ग्राम ३ सय ३० मिलिग्राम उक्त पदार्थ र नगद १५ हजार रूपैयाँ तथा डिक बहादुरको कोठा तलासी १ सय ४० मिलिग्राम उक्त पदार्थ र नगद १२ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-२ मंगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुल सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-३ घर भएका ३० वर्षीय महेश गुरूङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ११ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्री समेत ४ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम र नगद १८ हजार ९ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका-७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौं बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-६ घर भएका ३२ वर्षीय पुर्ण शंकर गिरी रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरूप नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय ५० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-१ सिमरपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय २९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ३६ एम्पुल र प्रोमेथाजाइन ३ सय ३७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदिप केवट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।