अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-११
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद ५ हजार ६ सय रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय अमन राई र २६ वर्षीय निकेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९ प १६०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय बिकास राजवंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद १९ हजार ४ सय ८५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-७ पानमारा बसपार्क डेरा गरी बस्ने हरिनगर गाउँपालिका-२ घर भएका १९ वर्षीय सोएल अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुवेर पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम, जरायोको दुई सिङ्गे १ थान र नगद ३५ हजार ८ सय ६० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित
सोही ठाउँ बस्ने २२ वर्षीय गणेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सण्डा बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९६ एम्पुल, फेनारगन ४ सय ४६ एम्पुल र बुप्रेनोर्फिन ४ सय ४६ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागूऔषध पोलेन करिब ५ ग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आर एन गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।